इरानले संयुक्त अरब इमिरेट्स (युएई) का तीन प्रमुख बन्दरगाह क्षेत्र खाली गर्न चेतावनी दिएको छ । अमेरिका र इस्राएलसँगको युद्ध तेस्रो सातामा प्रवेश गर्दै गर्दा इरानले पहिलो पटक छिमेकी देशका गैर–अमेरिकी सम्पत्तिलाई निशाना बनाउन सक्ने संकेत दिएको हो ।
एसोसियटेड प्रेस (एपी) का अनुसार, इरानले दुबईको जबेल अली बन्दरगाह, अबुधाबीको खलिफा बन्दरगाह र फुजेराह बन्दरगाह आसपासका क्षेत्रहरू खाली गर्न आग्रह गरेको छ । तेहरानले युएईका यी बन्दरगाह, डक तथा आश्रयस्थल अमेरिकाले इरानको मुख्य तेल निर्यात टर्मिनल रहेको खार्ग टापुमा आक्रमण गर्न प्रयोग गरेको आरोप लगाएको छ ।
इरानले आफ्नो चेतावनीमा अमेरिकी सेना रहेको भनिएको क्षेत्रबाट तत्काल मानिसहरूलाई बाहिरिन आग्रह गरेको छ । समाचार अनुसार, चेतावनीपछि केही समयसम्म दुबई र अबुधाबीका बन्दरगाहमा कुनै आक्रमण नभएको देखिएको छ । तर, इरानी ड्रोन अवरुद्ध हुँदा खसेको भग्नावशेषले फुजेराहस्थित तेल पूर्वाधारमा आगलागी भएको रिपोर्ट गरिएको छ ।
यसैबीच, इरानका विदेशमन्त्री अब्बास अराघ्चीले एक अन्तर्वार्तामा अमेरिकाले युएईका रस अल खैमाह र दुबई नजिकबाट खार्ग टापु तथा अबु मुसा टापुमा आक्रमण गरेको आरोप लगाएका छन् । उनले भने कि इरानले आबादी भएको क्षेत्रलाई निशाना नबनाउने गरी सावधानी अपनाउनेछ । अमेरिकी सेनाको सेन्ट्रल कमाण्डले भने यस दाबीबारे कुनै प्रतिक्रिया दिएको छैन ।
युएईका राष्ट्रपतिको कूटनीतिक सल्लाहकार अनवर गर्गाशले सामाजिक सञ्जालमार्फत आफ्नो देशलाई आत्मरक्षाको अधिकार भए पनि विवेक र संयमलाई प्राथमिकता दिइरहेको बताएका छन् ।
युद्ध सुरु भएयता इरानले खाडी क्षेत्रका देशतर्फ सयौं मिसाइल र ड्रोन प्रहार गरेको छ। इरानको दाबी अनुसार, ती प्रहार अमेरिकी सम्पत्तिलाई लक्षित छन्, तर केही प्रहार नागरिक पूर्वाधार जस्तै विमानस्थल र तेल क्षेत्र नजिक पुगेको रिपोर्टहरूमा उल्लेख छ ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खार्ग टापुस्थित सैन्य संरचनाहरू पूर्ण रूपमा ध्वस्त पारेको दाबी गरेका थिए । उनले चेतावनी दिएका थिए कि तेहरानले हर्मुज जलमार्ग हुँदै जहाज आवतजावतमा हस्तक्षेप जारी राखे तेल पूर्वाधार निशानामा पर्न सक्नेछ ।
इरानको संयुक्त सैन्य कमाण्डले भने यदि आफ्नो तेल पूर्वाधारमाथि थप आक्रमण भए, क्षेत्रका अमेरिकी सम्बन्धित तेल, आर्थिक तथा ऊर्जा संरचनाहरूमा प्रतिआक्रमण गर्ने चेतावनी दिएको छ ।