राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक लगत्तै संसदीय दलको बैठक बस्ने भएको छ ।
संसदीय दलको नेता चयन तथा विविध एजेन्डामाथि छलफल गर्न पार्टीले बिहीबार दिउँसो ४ बजे वनस्थस्थित केन्द्रीय कार्यालयमा केन्द्रीय समिति बैठक बोलाएको हो । बैठक सम्पन्न भएलगत्तै संसदीय दलको बैठक आह्वान गरिने जनाइएको छ ।
गत पुस १३ गते बालेन्द्र शाह (बालेन) सँग भएको सात बुँदे सहमतिमा पार्टीका सभापति रवि लामिछाने रहने र बालेनलाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमति भएको थियो । सोही सहमतिअनुसार बालेनलाई संसदीय दलको नेता बनाउने तयारी गरिए पनि पार्टी विधानअनुसार त्यसमा कानुनी जटिलता देखिएको चर्चा छ । यद्यपि पार्टी नेताहरूले वरिष्ठ नेता बालेनलाई संसदीय दलको नेता बनाउन कुनै समस्या नरहेको बताएका छन् ।
पार्टीका सचिवालय सदस्य गणेश पराजुलीका अनुसार विगतमा भएको सात बुँदे सहमति पार्टीको सचिवालय र केन्द्रीय समिति बैठकबाट अनुमोदन भइसकेकाले पुनः अनुमोदन गर्नुपर्ने आवश्यकता छैन । उनले संविधान र दलसम्बन्धी कानुनअनुसार निर्वाचित सांसदहरूले संसदीय दलको नेता चयन गर्ने व्यवस्था रहेकाले संसदीय दलको बैठकबाटै बालेनलाई नेता चयन गरिने जानकारी दिए ।
पराजुलीले बालेनलाई भावी प्रधानमन्त्री बनाउने सहमति भइसकेकाले संसदीय दलको नेता चयनका लागि विधान संशोधन आवश्यक नपर्ने स्पष्ट पारे । उनले सर्वसम्मत रूपमा नेता चयन गर्ने सहमति भइसकेकाले प्रक्रिया औपचारिकतामा मात्र सीमित हुने बताए ।
यस्तै, पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्यले पनि केन्द्रीय समिति बैठक लगत्तै संसदीय दलको बैठक बस्ने जानकारी दिए । उनले पार्टी विधानमा निर्वाचनअघि नै संसदीय दलको नेता चयन गर्ने उल्लेख भए पनि संविधानअनुसार निर्वाचित सांसदहरूमध्येबाट नेता छान्ने व्यवस्था भएकाले सहमतिमै बालेनलाई नेता बनाउन कुनै बाधा नपर्ने जिकिर गरे ।
नवनिर्वाचित सांसदहरूले बिहीबार सिंहदरबारस्थित संघीय संसद् भवनमा पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ । शुक्रबार बालेनले प्रधानमन्त्री पदको शपथ लिने तयारी रहेकाले त्यसअघि नै पार्टीले उनलाई संसदीय दलको नेता चयन गरिएको जानकारी राष्ट्रपति कार्यालयलाई गराउनेछ ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले स्पष्ट बहुमत प्राप्त गरेकाले नेपालको संविधानको धारा ७६(१) बमोजिम राष्ट्रपतिबाट बालेन प्रधानमन्त्री पदमा नियुक्त हुने प्रक्रिया अघि बढ्नेछ ।