कफीको इतिहास करिब १० औं शताब्दीदेखि सुरु भएको हो । यसको उत्पत्ति अफ्रिकाको इथियोपियामा भएको विश्वास गरिन्छ, जहाँ स्थानीय जनजातिहरूले कफी बोटका फलहरू चाख्न थालेका थिए । त्यसपछि कफी मध्यपूर्व हुँदै युरोप र विश्वका अन्य भागहरूमा फैलियो । १६औं शताब्दीमा युरोपेलीहरूले कफीलाई नयाँ पेय पदार्थको रूपमा चिने र यसको प्रभावबारे अनुसन्धान गर्न थाले ।
प्रारम्भमा कफीलाई स्वास्थ्यका लागि हानिकारक मानिन्थ्यो, तर पछि यसले थुप्रै रोगबाट बचाउने सम्भावना देखाएपछि यसको लोकप्रियता बढ्दै गयो। आज कफी विश्वभर सबैभन्दा बढी सेवन गरिने पेय पदार्थहरूमध्ये एक हो । दैनिक करोडौं मानिसहरूले आफ्नो दिनको सुरुवात कफीसँगै गर्छन् ।
नेपालमा पनि कफीको सेवन दिनानुदिन बढ्दै गएको छ । पहिले नेपालमा ब्ल्याक वा मिल्क कफी मात्र परिचित थियो, तर आज अमेरिकानो, एस्प्रेसो, क्यापुचिनो, लाटे लगायतका विभिन्न कफी भेराइटीमा उपभोक्ताहरू परिचित भइसकेका छन् । पछिल्ला वर्षहरूमा नेपालमा कफी संस्कृतिको विकास तीव्र रूपमा बढेको छ भने कफी उत्पादन र व्यवसाय दुवैले उल्लेखनीय प्रगति गरेको देखिन्छ ।
कफीका प्रमुख जैविक तत्व र स्वास्थ्य प्रभाव
कफीमा मुख्य रूपमा क्याफिन, क्लोरोजेनिक एसिड, डाइटरपेनोइड अल्कोहलजस्ता जैविक यौगिकहरू पाइन्छन् ।
क्याफिन: केन्द्रीय स्नायु प्रणालीलाई उत्तेजित गरी मानसिक सतर्कता बढाउँछ ।
क्लोरोजेनिक एसिड: शक्तिशाली एन्टिअक्सिडेन्टको रूपमा काम गर्दै कोशिकालाई क्षतिबाट जोगाउँछ ।
डाइटरपेनोइड अल्कोहल: केही अवस्थामा रक्तमा कोलेस्टेरोल र होमोसिस्टीन स्तर बढाउँछ, जसले मुटु रोगको जोखिम बढाउन सक्छ ।
स्वास्थ्य लाभहरू
धेरै वैज्ञानिक अध्ययनहरूले मध्यम मात्रामा कफी सेवनले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने देखाएका छन् । दैनिक ३ – ५ कप कफी सेवनले मुटु रोग, मधुमेह, स्ट्रोक, केही प्रकारका क्यान्सर (जस्तै कलेजो र गर्भाशयको क्यान्सर) र मस्तिष्कसम्बन्धी रोगको जोखिम कम गर्न सक्छ ।
व्यायामको ३०–६० मिनेटअघि शरीर तौलअनुसार ३ – ६ मि.ग्रा. प्रति के.जी क्याफिन सेवन गर्दा बोसो पगाल्ने क्षमता (फ्याट अक्सिडेसन) बढ्ने देखिएको छ । क्याफिनले मानसिक सतर्कता, स्मरणशक्ति सुधार्ने र शारीरिक प्रदर्शन सुदृढ गर्ने भूमिका पनि खेल्छ ।
कफीमा पाइने अन्य जैविक-सक्रिय तत्वहरूले पनि स्वास्थ्यमा लाभ पुर्याउँछन्:
डाइटरपिन: कलेजो तथा प्रोस्टेट क्यान्सरको जोखिम घटाउन सहयोगी ।
ट्रिगोनेलिन: स्मरणशक्ति र स्नायु स्वास्थ्य सुधार ।
मेलानोइडिन: एन्टिअक्सिडेन्ट तथा प्रिबायोटिकको असर प्रदान, पाचन प्रणालीलाई सहयोग ।
पोटासियम – म्याग्नेसियम: इलेक्ट्रोलाइट सन्तुलन र मेटाबोलिक प्रक्रियामा योगदान ।
अत्यधिक सेवनका नकारात्मक असरहरू
अत्यधिक कफी सेवनले निद्रा समस्या, बेचैनी, हृदयको धड्कन बढ्नु, उच्च रक्तचाप, तनाव, हड्डी कमजोर हुने जोखिम, र गर्भवतीमा भ्रूण स्वास्थ्यमा असर पार्न सक्छ ।
मानसिक स्वास्थ्यको हिसाबले, अत्यधिक क्याफिनले तनाव, चिन्ता, चिडचिडापन, निद्रा नलाग्ने समस्या र दीर्घकालीन अवस्थामा डिप्रेसनका प्रारम्भिक लक्षण उत्पन्न गर्न सक्छ । क्याफिन निर्भरता विकसित भएमा विथड्रल लक्षणहरू जस्तै टाउको दुखाइ, थकान, मूड स्विङ र ध्यान केन्द्रित गर्न कठिनाइ देखा पर्न सक्छ ।
सन्तुलित सेवनका सुझाव
स्वास्थ्य विशेषज्ञहरूले दैनिक २–४ कप मध्यम कफी सेवनलाई सुरक्षित मान्छन् । उच्च रक्तचाप वा हृदयसम्बन्धी समस्या भएका व्यक्तिहरूलाई बढी क्याफिनयुक्त पेय पदार्थबाट बच्न सुझाव दिइन्छ । गुलियो वा क्रिम थप्दा स्वास्थ्य लाभमा कमी आउन सक्छ ।
कफीलाई सन्तुलित मात्रामा सेवन गर्दा शरीर र मानसिक स्वास्थ्य दुबैमा लाभ पुर्याउन सकिन्छ । आवश्यक परे चिकित्सक वा परामर्शदाताको सल्लाह लिनु बुद्धिमानी हुन्छ ।