प्रधानमन्त्री सुशीला कार्की ले आफू बोलिरहेका बेला एक प्रहरी महानिरीक्षक ( आइजिपी ) ले हप्काएको खुलासा गरेकी छन् ।
राष्ट्रिय समाचार समिति (रासस) सँगको अन्तर्वार्तामा उनले नाम उल्लेख नगरी उक्त घटना सार्वजनिक गरेकी हुन् ।
“त्यत्रो आन्दोलन भयो । त्यो परिस्थितिबाट अहिलेको परिस्थितिमा मुलुकलाई ल्यायौँ नि । एउटा आइजिपीले मलाई बोल्दाबोल्दै हप्काएको थियो। यो सबै संघर्षकै परिणाम हो,” प्रधानमन्त्री कार्कीले भनिन् ।
कार्की नेतृत्वको अन्तरिम सरकार रहँदा नेपाल प्रहरी मा दुई जना आइजिपी रहेका थिए । कार्की प्रधानमन्त्री हुँदा चन्द्रकुवेर खापुङ आइजिपी थिए भने उनको कार्यकाल सकिएपछि दानबहादुर कार्की नियुक्त भएका थिए ।
त्यस्तै सशस्त्र प्रहरी बल नेपाल तर्फ हाल राजु अर्याल आइजिपी रहेका छन् ।
प्रधानमन्त्री कार्कीले आइजिपीले हप्काएको प्रसंग विस्तृत रूपमा खुलाइनन् । तर असोज तेस्रो साता पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक लाई पक्राउ गर्न जाहेरी परेपछि प्रहरीमाथि तीव्र दबाब बढेको थियो ।
दबाब बढेपछि सुरक्षा निकायका प्रमुखहरू बालुवाटार पुगेर प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल लगायतसँग छलफलमा जुटेका थिए । उक्त बैठकमा चर्काचर्की समेत भएको जनाइएको छ ।
त्यस क्रममा बालेन शाह ले पनि ओली र लेखकलाई पक्राउ गर्न प्रधानमन्त्री कार्कीलाई दबाब दिएका थिए ।
‘ओली हार्नुहोला भन्ने सोचेको थिइनँ’
प्रधानमन्त्री कार्कीले पछिल्लो प्रतिनिधिसभा निर्वाचनको परिणाम आफूलाई अप्रत्याशित लागेको बताएकी छन् ।
“पुराना दलले पनि आत्तिनुपर्दैन, नयाँले मात्तिनु पर्दैन। मैले त ओलीजी हार्नुहोला भन्ने सोचेको पनि थिइनँ। उहाँको ३०/४० वर्ष राजनीति गरेको ठाउँ, उहाँका इष्टमित्र सबै त्यहीँ थिए,” उनले भनिन् ।
उनले चुनावअघि आफूले ओलीसँगको भेटमा मतदाताले अन्तिम समयमा आफ्नै पार्टीलाई मत दिने विश्वास व्यक्त गरेको पनि स्मरण गरिन् ।
“राजनीतिमा कहिलेकाहीँ परिवारकै सदस्यले वर्षभरि आलोचना गर्छन्, तर मतदानका बेला आफ्नै पार्टीलाई मत दिन्छन्,” उनले भनिन् ।
प्रधानमन्त्री कार्कीले निर्वाचनपछि विजयी पक्षले अल्पमतको सम्मान गर्नुपर्ने धारणा राखिन् ।
“निर्वाचनअघि पार्टी फरक हुन्छन्, तर परिणामपछि सबैलाई सम्मान गर्नुपर्छ। सत्तापक्षले गल्ती गरे प्रतिपक्षले विरोध गर्नुपर्छ। राजनीति भनेको सामाजिक सेवा हो,” उनले भनिन् ।
उनले भारतकी पूर्वप्रधानमन्त्री इन्दिरा गान्धी को उदाहरण दिँदै जनमत परिवर्तनशील हुने उल्लेख गरिन्।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष ओली, राष्ट्रिय स्वतन्त्र पार्टी का वरिष्ठ नेता बालेन शाहसँग पराजित भएका थिए । ओली झापा–५ बाट निर्वाचन लड्दै आएका थिए ।
बालेनप्रति विश्वास
प्रधानमन्त्री कार्कीले बालेन शाहप्रति आफू विश्वस्त रहेको बताइन् ।
“बालेनप्रति विश्वास छ । केही सकारात्मक परिवर्तन हुन्छ भन्ने आशा पनि छ,” उनले भनिन् ।
उनका अनुसार बालेनको चुनावी अभियानले तराई, पहाड र हिमाललाई एकताबद्ध गरेको सन्देश दिएको छ ।
रास्वपाले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर निर्वाचनमा होमिएको थियो। उक्त पार्टीले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सिट जितेको छ ।
समानुपातिक सांसदहरूको नामावली निर्वाचन आयोगमा बुझाएपछि सरकार गठन प्रक्रिया अघि बढ्नेछ । रास्वपाले सहमति अनुसार बालेनलाई संसदीय दलको नेता हुँदै प्रधानमन्त्री बनाउने प्रतिबद्धता जनाएको छ ।
‘सिंहदरबारभित्रै सबैभन्दा ठूलो सुधार आवश्यक’
प्रधानमन्त्री कार्कीले राज्य संयन्त्रभित्र सुधार अपरिहार्य रहेको बताइन् ।
“हरेक कामलाई सचिवहरूले फनफनी घुमाउँछन् । स्वार्थका विषयमा अनेक विकल्प ल्याउने, तर देशको हितका विषयमा हुँदैन मात्र भन्ने प्रवृत्ति छ,” उनले भनिन् ।
उनले कर्मचारीतन्त्रको ढिलासुस्तीका कारण सरकारी कामकारबाहीमा ठूलो असर परेको उल्लेख गरिन् ।
उनका अनुसार नयाँ सरकारले सुशासन, भ्रष्टाचार नियन्त्रण र रोजगारी सिर्जनालाई पहिलो प्राथमिकतामा राख्नुपर्छ ।
“रोजगारीको अभाव सबैभन्दा ठूलो समस्या हो । भएका अवसरमा पनि नातावाद छ । आर्थिक सुधार गर्दै खुलेआम भ्रष्टाचार रोक्नुपर्छ,” उनले भनिन् ।
प्रधानमन्त्री कार्कीका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हालै ४०–४५ वटा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
उनले समयमै विकास आयोजना सम्पन्न नहुने प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै कर्मचारीतन्त्रमा व्यापक सुधार आवश्यक रहेको बताइन् ।
‘अब निजी जीवनमा फर्किन्छु’
प्रधानमन्त्री कार्कीले विषम परिस्थितिमा प्रधानमन्त्री भएर निर्वाह गर्नुपर्ने जिम्मेवारी पूरा गरेको बताइन् ।
राष्ट्रपति बन्ने चर्चा सम्बन्धी जिज्ञासामा उनले अब कुनै पदप्रति मोह नरहेको स्पष्ट पारिन् ।
“मभन्दा योग्य र अवसर नपाएका धेरै व्यक्ति छन् । सरकारलाई निर्वाचन गराउने जिम्मेवारी थियो, त्यो पूरा भयो,” उनले भनिन् ।
उनले नयाँ सरकारले युवालाई रोजगारी, शिक्षा सुधार र देशभित्रै बस्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिइन् ।
“विदेश गएर बाकसमा फर्कनुपर्ने अवस्थाको अन्त्य होस् । देशप्रति विश्वासको वातावरण बनाउनैपर्छ। प्राकृतिक स्रोतसाधनले भरिपूर्ण हाम्रो देश अत्यन्तै सुन्दर छ,” उनले भनिन् ।
देशमा द्वन्द्व र तनावको अवस्था अन्त्य भई सामाजिक सद्भाव कायम होस् भन्ने आफ्नो चाहना रहेको पनि उनले बताइन् ।