अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध घुस तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी मुद्दा दायर गरेको छ।
आयोगका अनुसार एच.के. इन्टरप्राइजेज प्रा.लि.का सञ्चालक श्रीकृष्ण श्रेष्ठ बिज्यूले राजस्व चुहावटसम्बन्धी छानबिनमा सहजीकरण गरिदिने भन्दै अधिकारीलाई ७० लाख रुपैयाँ घुस दिएका थिए। अनुसन्धानका क्रममा उक्त घुस विभिन्न व्यक्तिको खातामार्फत बैंक तथा वित्तीय संस्थामा जम्मा गरी स्वरूप परिवर्तन गरिएको पाइएको छ।
आयोगले जनाएको छ, ७० लाखमध्ये २० लाख रुपैयाँ द कुटि रिसोर्ट प्रा.लि. का म्यानेजिङ डाइरेक्टर देवेन्द्र केसीको खातामा जम्मा गरी रिसोर्टको कर्जा तिर्न प्रयोग गरिएको थियो। बाँकी ५० लाख रुपैयाँ रवीन्द्र लामिछानेको नाममा भक्तपुर, मध्यपुर थिमीस्थित दिव्यश्वरी आयोजनाभित्रको जग्गा खरिदमा लगानी गरिएको खुलेको छ।
अख्तियारका अनुसार अधिकारीले सार्वजनिक पदको दुरुपयोग गर्दै घुस लिएर रकम बैंक खातामार्फत घुमाएर सम्पत्ति शुद्धीकरण गर्ने प्रयास गरेको पुष्टि भएको छ। यस प्रकरणमा अधिकारीमाथि ७० लाख रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन र सम्पत्ति शुद्धीकरण निवारण ऐनअनुसार कारबाही माग गरिएको छ।
त्यसैगरी, देवेन्द्र केसी र रवीन्द्र लामिछानेमाथि क्रमशः २० लाख र ५० लाख रुपैयाँ बिगो कायम गर्दै मुख्य कसुरदारलाई सहयोग गरेको आरोपमा मुद्दा दायर गरिएको छ। आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार घुसबाट खरिद गरिएको जग्गा तथा कर्जा भुक्तानीमा प्रयोग गरिएको रकम जफत गर्नसमेत माग गरिएको छ।
यस मुद्दामा भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरण दुवै कसुरमा विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ।