डोनाल्ड ट्रम्पले चीन भ्रमण स्थगित गरेका छन् । इरानसँग जारी युद्धलाई कारण देखाउँदै उनले भ्रमण पछि सार्न चीनसँग अनुरोध गरेको बताएका छन् । “अहिले हाम्रो युद्ध चलिरहेको छ, मलाई यहाँ उपस्थित हुनु आवश्यक छ,” ट्रम्पले बताएका छन् । यद्यपि भ्रमण कति समयका लागि स्थगित गरिएको हो भन्नेबारे उनले स्पष्ट पारेका छैनन् ।
यसअघि ट्रम्पले ‘स्ट्रेट अफ हर्मुज’ खुलाउन सहयोग नगरे चीन भ्रमण ढिला हुन सक्ने चेतावनी दिएका थिए।
अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि हमला गरेपछि इरानले आफ्नो नजिकै रहेको रणनीतिक समुद्री मार्ग स्ट्रेट अफ हर्मुज बन्द गरेको छ । उक्त जलमार्गबाट विश्वको करिब २५ प्रतिशत कच्चा तेल र २० प्रतिशत प्राकृतिक ग्यास आपूर्ति हुँदै आएको छ ।
जलमार्ग बन्द भएपछि अन्तर्राष्ट्रिय बजारमा तेल आपूर्ति प्रभावित भई मूल्यवृद्धि भएको छ । यसको असर विश्व अर्थतन्त्रमा समेत परेको छ ।
स्ट्रेट अफ हर्मुज खुलाउन ट्रम्पले सक्रिय पहल गरिरहेका छन् । विश्व अर्थतन्त्रमा थप समस्या आउन नदिन आवश्यक परे युद्धपोतको ‘स्कर्टिङ’ मार्फत जलमार्ग खुला गरिने उनले बताएका छन् ।
शनिबार मात्र ट्रम्पले हर्मुज खुलाउन युद्धपोत परिचालन गर्न चीन, बेलायतलगायत देशलाई आग्रह गरेका छन् । तर चीनले युद्धपोत पठाउने सम्भावना भने न्यून देखिएको छ ।
चीनले हर्मुज खुलाउन सहयोग गरोस् भन्ने दबाब दिनकै लागि ट्रम्पले चीन भ्रमण पछि सार्ने चेतावनी दिएका थिए ।
सी चिनफिङसँग हुने शिखर सम्मेलनअघि तेल आपूर्ति अवरोधको समस्या समाधान होस् भन्ने आफूले चाहेको ट्रम्पले फाइनान्सियल टाइम्ससँगको अन्तर्वार्तामा बताएका थिए ।
“चीनले आफ्नो करिब ९० प्रतिशत तेल यही जलमार्गमार्फत आयात गर्छ, त्यसैले चीनले पनि सहयोग गर्नुपर्छ,” ट्रम्पको भनाइ उद्धृत गर्दै फाइनान्सियल टाइम्सले जनाएको छ । शिखर सम्मेलनअघि नै चीनको धारणा स्पष्ट होस् भन्ने चाहना पनि ट्रम्पले व्यक्त गरेका छन् ।
चीन भ्रमणका क्रममा केही महिनाअघि भएको व्यापार सम्झौताले अन्तिम रूप पाउने कार्यक्रम रहेको छ । आपसी व्यापारसँगै ताइवान मामिलाबारे पनि दुई देशबीच छलफल हुने बताइएको छ ।
ट्रम्प भ्रमण रद्द गर्न सक्ने आशंकाका कारण चीनले इरानमाथिको हमलाप्रति कडा प्रतिक्रिया नजनाएको विश्लेषण गरिएको छ । यही अवस्थालाई मध्यनजर गर्दै ट्रम्पले हर्मुज जलमार्ग खुलाउन चीनमाथि दबाब बढाएका हुन् ।